जेन जी अगुवा अस्मिता खत्रीले बुझाईन् मन्त्रीलाई ध्यानाकर्षण पत्र – Pahilo Katha

जेन जी अगुवा अस्मिता खत्रीले बुझाईन् मन्त्रीलाई ध्यानाकर्षण पत्र

    मा प्रकाशित

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने ओख्रेनी, सानु चिलाउने, ठूलो चिलाउने र कुने गाउँमा लामो समयदेखि विद्यमान विभिन्न गम्भीर समस्याको समाधानको माग गर्दै स्थानीय बासिन्दाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।

स्थानीयहरूको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा उक्त क्षेत्र प्राकृतिक रूपमा धनी भए पनि भौगोलिक विकटताका कारण आधारभूत सेवा–सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ। बागद्वार–बागमती नदीको मुहान नजिकै रहेको, खोला नाला, झरना, पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको क्षेत्र भए पनि विकासका पूर्वाधारको अभावले जनजीवन कष्टकर बनेको स्थानीयहरूको गुनासो छ।

ज्ञापनपत्रमा सडक तथा यातायात, बिधुत/ऊर्जा, शिक्षा, स्वास्थ्य र खानेपानीका समस्या गम्भीर रहेको उल्लेख गरिएको छ। वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुने, विद्युत् आपूर्ति अनियमित रहने, विद्यालय आठ कक्षासम्म मात्र सञ्चालन हुने, स्वास्थ्य चौकी र दक्ष जनशक्तिको अभाव रहने तथा सुरक्षित खानेपानीको व्यवस्था नहुँदा स्थानीय बासिन्दा दैनिक रूपमा कठिनाइ भोग्न बाध्य भएको जनाइएको छ।

यी समस्याका कारण गाउँबाट पलायन बढ्दो क्रममा रहेको र यसले गाउँको समग्र विकासमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै ज्ञापनपत्रमा तत्काल आवश्यक योजना, बजेट व्यवस्था र प्रभावकारी कार्यान्वयनको माग गरिएको छ। साथै, स्थानीय जनताको सहभागितामा दीर्घकालीन र दिगो विकास कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउने कार्यमा जेन जी अगुवा अस्मिता खत्रीको नेतृत्व रहेको छ। स्थानीयहरूले सम्बन्धित निकायले यस विषयलाई गम्भीरता पूर्वक ग्रहण गरी जनजीवन सहज बनाउने दिशामा आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया