हनिमुन मनाउन गोवा जान ठिक्क परेको जोडी फुटाएको अपजस बेहोर्नुपर्दा – Pahilo Katha

हनिमुन मनाउन गोवा जान ठिक्क परेको जोडी फुटाएको अपजस बेहोर्नुपर्दा

    मा प्रकाशित

तिम्रो ग्रेट म्यानको खबर के छ भन्दै वसन्तले मलाई सोध्दै थियो नि आज! यस्तै सन्देश मेसेन्जरमा ब्लिन्क गर्‍यो। तर त्यो ग्रेट म्यान भन्या के रैछ बुझ्न सक्या छैन अझै। म्यासेज फेसबुक मित्र समुनाको थियो, उनैले आफ्नो प्रेमीसामु मलाई ग्रेट म्यान हो भनेर चिनाएकी हुन रे। सुरुमा समुनाको नाम नै मलाई एकदम युनिक लागेको थियो, पहिले कहीँकतै नसुनेको नाम थियो। अझै पनि विरलै सुन्छु।

हामी एउटा रेडियो कार्यक्रम मार्फत जोडिएका थियौँ फेसबुकमा सन् २०१२ तिर। उनी सिरहा जिल्लाको जिरोमाइल भन्ने सानो बजार छेउतिरको देहातकी थिएन्। समुनासँग संयोगले चिनजान हुनु पनि दैवले जुराएको जस्तो भयो मेरो लागि।

जिरोमाइल भन्ने ठाउँसँग आकर्षण हुनु तर त्यता नपुग्नु, मनको कुनै कुनामा त्यो सम्झनाको अस्तित्व रहिरहनु र संयोग नै सही उनीसँग परिचित हुनु एक किसिमको सुखद संयोग भयो। पूर्व–पश्चिम राजमार्गको सिरहा खण्डमा पर्ने जिरोमाइलसँग पुरानो सम्झनाहरू ताजा भएर आयो र समुनासँग झन् नजिकिएर बोल्ने बहाना बन्यो।

किशोरवयमा म लगायत केही साथीहरूलाई केही दिन भारत घुम्ने अवसर मिलेको थियो। त्यतिखेर संयोगवश आफूलाई क्रान्तिकारी मजदुर बताउने, भुमिगत रुपमा कम्युनिस्ट विचारलाई विस्तार गर्ने, आवरणमा चाहिँ कुनै कम्पनीमा देखावटी रुपमा काम गर्ने केही युवाहरूसँग भेट र संगत भयो। उनीहरूले त्यस्तै कम्युनिस्ट र समाजवाद पच्छ्याउने विभिन्न किताबहरू पढ्न दिएका थिए र पढ्नु पर्छ भनेर हौस्याउँथे। उनिहरूलाई पढ्नै पर्छ भन्ने लागेको तर आफुसँग नभएका किताब हरू को सिफारिस पनि गरेका थिए भविष्यमा पढ्नु होला भनेर। त्यसैको प्रभावस्वरुप पछि मैले नेपालीमा अनुवाद गरिएका म्याक्सिम गोर्की, लु सुन लगायतका कम्युनिस्ट लेखकका थप्रै पुस्तक पढेको थिएँ, जो विश्व कम्युनिस्ट जगतमा चर्चित थिए।

तिनैले दिएका किताबमध्ये एउटा किताबको नाम ‘जिरोमाइल’ थियो। सिरहाको पूर्वपश्चिम राजमार्गमा पर्ने (मलाई लाग्छ, त्यो उपन्यास लेखिँदा त्यो बजार थिएन, सानो चोकसम्म थियो कि) सानो बजार जिरोमाइललाई केन्द्रमा राखेर इस्मालीले यो उपन्यास लेखेका थिए। एउटा सोझो युवालाई राज्यसत्ताले दुःख दिएर कसरी क्रान्तिकारी या भनौँ विद्रोही बन्न बाध्य बनाउँछ भन्ने सार थियो त्यो उपन्यासको।

समुना त्यही ठाउँको हो भन्ने थाहा पाउँदा पुराना दिनहरू मनमा रिल झैँ घुम्दै आए। तिनै प्रवासमा भेट भएका युवाहरूको याद आयो। केही समयसम्म पत्राचार भए पनि त्यसले निरन्तरता पाउन सकेन। उनीहरूको बसाइ पनि स्थायी थिएन, कताकता सरिरहन्छौँ भन्थे र राज्यको तर्फबाट आफूहरूलाई सधैँ खतरा रहेको बताउँथे। अहिले लाग्छ, ती माओवादीको जनयुद्धलाई सघाउन भारतमा क्रियाशील थिए। खैर, उनीहरू जो जहाँ भए पनि मेरो स्मृतिमा रहिरहन्छन्।

समयले लामो यात्रा तय गर्‍यो। मैले पनि घरको विभिन्न जिम्मेवारी वहन गर्नु पर्ने भयो र विदेशिन पुगेँ, र समुनासँग भर्चुअल साथी भइयो। यही कारणले समुनासँग म नजिकिन पुगेँ।

तिनताक हाम्रो त्यो दुर्गम गाउँमा राम्रो नेट पनि चल्दैन थियो। र, स्मार्टफोन पनि सबैसँग थिएन। त्यो समयमा विदेशको बिरसिलो समय कटाउन समुनासँगको गफगाफ मेरो लागि राम्रो माध्यम बन्यो। त्यसै पनि विपरीतलिङ्गीप्रति आकर्षण पनि हुने नै भयो।

म अहिले चाहिँ सन् २०१४ पछिको प्रसंग निकाल्दैछु। समुनामार्फत वसन्त मसँग केही महिनादेखि फेसबुकमा साथी थियो र कुरा पनि गर्थ्यो, छिमेकी जिल्ला सप्तरीतिरको थियो ऊ अनि समुना सिरहाको। उनीमार्फत वसन्तसँग पनि भर्चुअल चिनजान भएकोले भेट हुने कुरै भएन, त्यतिखेर। अब त त्यो सम्भावना पनि छैन।

उनीहरू दुईबीचको प्रेमसम्बन्धले मैले पाएको अपजसबारे अहिले चलिरहेको विवाहको चहलपहलमा यति लेखौँलेखौँ लाग्यो। यो एउटा मैले नदेखेको, नभेटेको तर महसुस र कुराकानी गरेको प्रेमी जोडीको कथा हो। समुना र वसन्तबीचको प्रेमको दुःखद अवसानको कथा हो, साक्षीजस्तो त म थिएँ तर गर्न चाहिँ केही नसकेको दुःखद कथा हो।

समुनासँग सामान्य चिनजान हुँदै दुःखसुख अन्तरकुन्तर गफ चलिरहन्थ्यो। एकअर्काबीच खुल्दै जाँदा कलेजको विद्यार्थी रहेको आदि बताउँदै एकदिन वसन्तसँगको आफ्नो प्रेम सम्बन्धबारे पनि बताएकी थिइन्। उनकै आग्रहमा वसन्त पनि मसँग फेसबुकमा साथी हुन आएको थियो र समुनाको प्रशंसा, राम्रा नराम्रा कुरा गरिरहन्थ्यो। दुवैले प्रेमको साक्षी बनाएका थिए मलाई।

प्रतिक्रिया