काठमाडौं – सल्लाघारीमा हजारौँ कार्यकर्ता उतारेर उद्घाटन गरेको एमालेले भृकुटीमण्डपमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराएर एघारौँ महाधिवेशन समापन गर्यो । उद्घाटनसत्र जति नरम थियो समापनमा आइपुग्दा केही गरम देखियो ।
केपी ओली र ईश्वर पोखरेल समूह नेतृत्वको लागि प्रतिस्पर्धामा थिए । तर धेरैजसो ओली प्यानलका विजयी भए । त्यसैले अध्यक्षमा विजयी भएपछि ओली भृकुटीमण्डपमा गरम सुनिए । पुन विजय भएपछि ओलीको आवाज निकै बलियो भएको देखियो । उनी जेनजी आन्दोनल र सरकारप्रति पनि आक्रामक देखिए ।
सल्लाघारीमा संयमित भएका ओलीले लिखित भाषण गरेका थिए । तर शुक्रबार उनले लिखित भाषण गरेनन् । विजयको खुशीसँगै उनको मुहारमा आक्रोश देखियो । जेनजी आन्दोनल र सरकारप्रति उनी झन आक्रामक भए । एमाले नेतृत्वमाथि कसैले धावा बोले देश नै ठप्प पार्ने सम्मको चेतावनी दिए ।
‘एमालेमाथि भौतिक आक्रमण गर्ने, जाली मुद्दा लगाउन खोज्ने हल्ला छ । एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढल्नुपर्छ । देशभए तयारी अवस्थामा बस्नु पर्छ । एमालेलाई होच्याउने, जाली मुद्दा लगाउने सुइँको पाएको छ,’ ओलीले भने ।
महाधिवेशनले प्रतिगामी तत्त्वलाई जवाफ दिएको निष्कर्ष एमालेको छ । ‘पुराना पार्टी सकियो भन्नेलाई महाधिवेशनले जवाफ दिएको छ । एमाले अजम्मरी पार्टी हो । कसैले चिताउँदैमा कमजोर हुँदैन, सकिँदैन । झन माथि उठ्छ,’ अध्यक्ष ओलीले महाधिवेशनको निचोड सुनाए ।
एमाले संसद् पुर्नस्थापनामा अडिग देखियो । ‘असंवैधानिक रूपमा मिचिएको संविधानलाई सहि बाटोमा फर्काउनु पर्छ । विघटन गरिएको संसद पुर्नस्थापानको माग लिएर एमाले उत्रियो,’ ओलीले भने । महाधिवेशनले षड्यन्त्रलाई ध्वस्त पारेको ओलीको निकर्ष छ ।
‘मेरो बारेमा अनेक शक्तिले जालझेल गर्ने काम गरिरहेका छन् । यो षड्यन्त्रलाई जवाफ दिनु भएको छ । प्रतिक्रियावादीलाई ध्वस्त पार्नु भएको छ,’ प्रतिनिधिलाई ओलीले भने । ‘सके निर्वाचनको तयारी गर नत्र बाटो लाग । जेनजी भन्ने केही युवालाई बोलायो नाटक गर्यो । जेनजीसँगको सम्झौता होइन भद्दा नाटक हो । यो सम्झौतालाई एमालेले अस्वीकार गर्छ । लागू हुन दिँदैनौं,’ ओलीले भने ।



