सडक संजालले नछोएको उपल्लो डोल्पामा घरैपिच्छे मोटरसाइकल ( भिडियो सहित ) – Pahilo Katha

सडक संजालले नछोएको उपल्लो डोल्पामा घरैपिच्छे मोटरसाइकल ( भिडियो सहित )

    मा प्रकाशित

रामचन्द्र न्यौपाने , डोल्पा — डोल्पालाई तल्लो, मध्य र माथिल्लो गरी तीन भेगमा विभाजन गरिएको छ । डोल्पाको दुनैसम्म २०७५ मंसिरमै राष्ट्रिय सडक सञ्जाल जोडिसकेको छ । तर उत्तरी क्षेत्र उपल्लो डोल्पामा भने तत्कालै राष्ट्रिय सडक सञ्जाल जोड्न सक्ने अवस्था छैन ।

उपल्लो डोल्पामा पर्ने नेपाल चीन सीमावर्ती क्षेत्र मरिम,धो दुनै हुँदै भारत जोड्ने भेरी करिडोरको ल्यासिक्याप सिसौलको ३३ किलोमिटर खण्ड कडा चट्टानयुक्त भएकाले काम नै सुरु गरिएको छैन । हालसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको उपल्लो डोल्पामा भने घरैपिच्छे चिनियाँ मोटरसाइकल छन् भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

उपल्लो डोल्पामा शे–फोक्सुण्डो,डोल्पोबुद्ध र छार्काताङ्सोङ् गरेर तीनवटा स्थानीय तह छन् । त्यहाँका धेरैजसो घरमा कम्तीमा एउटा चिनियाँ मोटरसाइकल छ । उपल्लो डोल्पामा पर्ने धो,तिन्जे,फाललगायतका बस्तीबाट नजिकै चिनियाँ बोर्डर छ । मोटरसाइकलमा तिन्जेबाट एक घण्टामै नाका पुग्न सकिन्छ ।

प्रत्येक वर्षको साउन महिनापछि पन्ध्रदेखि एक महिनाका लागि नाका खुल्ने गर्दछ । त्यसका लागि जिल्ला प्रशासनबाट सीमापास लिनुपर्ने हुन्छ । नाका खुलेको बेला उपल्लो डोल्पाका बासिन्दाले चामल,नुन,तेल,लत्ताकपडालगायतका दैनिक उपभोग्य सामानसँगै मोटरसाइकलसमेत खरिद गर्ने गर्दछन् ।
नेपालमा पाँच देखि सात लाखसम्म पर्ने मोटरसाइकल दुईदेखि तीन लाखमै चिनियाँ क्षेत्रमा किन्न पाइन्छ । त्यसैले पनि घरैपिच्छे मोटरसाइकल राख्ने गरिएको उपल्लो डोल्पावासी बताउँछन् । उपल्लो डोल्पा पुग्न जिल्ला सदरमुकाम दुनैबाट दुईदेखि तीन दिनसम्म लाग्छ ।तर,माथि उक्लिएपछि समथर भू-भाग भएका ठूला फाँट छन् । धरती र आकाश जोडिएझैं देखिनै तीनै फाँटमा विगत वर्षौंदेखि चिनियाँ मोटरसाइकल निरन्तर कुदिरहन्छन् । उपल्लो डोल्पामा पर्ने नेपाल-चीन सीमा क्षेत्रमा अस्थायी वा स्थायी कुनै पनि प्रकारका चेकपोस्ट वा भन्सार कार्यालय छैन ।

चिनियाँ क्षेत्रबाट खरिद गरेर ल्याइएका मोटरसाइकलले भने उपल्लो डोल्पावासीको दैनिकी भने सहज बनाइदिएका छन् । एक बस्तीबाट अर्को बस्तीमा पुग्न दिनभर पनि लाग्ने बस्तीहरू उपल्लो डोल्पामा छन् । तर,मोटरसाइकलले गर्दा एक बस्तीबाट अर्को बस्तीमा पुग्न निकै सहज भएको स्थानीयको भनाइ छ ।
‘तीन वटा पालिका गरेर करिब दुई हजार मोटरसाइकल होलान्, यी मोटरसाइकलले उपल्लो डोल्पावासीको दैनिकी निकै सहज बनाएको छन्,’डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धार्के गुरुङले भने ।

‘राज्यले दुर्गमवासीको समस्या बुझ्न सकेको छैन,उपल्लो डोल्पा अहिलेसम्म पनि सडक सञ्जालमा जोडिएको छैन जसका कारण राज्यलाई पनि बेफाइदा छ ।’ उनी भन्छन्, ‘उपल्लो डोल्पामा तीन सय सीसीसम्मका मोटरसाइकल छन्,जसको मूल्य नेपाली बजारमा सात लाखसम्म पर्छ,तर चिनियाँ नाकामा १ लाख ९० हजारमै किन्न पाइन्छ ।’
उपल्लो डोल्पामा सन् २०१५ देखि चिनियाँ मोटरसाइकल भित्रिन थालेका हुन् । चीनबाट भित्र्याइएका मोटरसाइकल दर्ताबिना नै चलाइएका छन् । मोटरसाइकलमा प्रयोग हुने पेट्रोल भने मुस्ताङबाट ढुवानी गर्ने गरिन्छ । धोमा पेट्रोल प्रतिलिटर ३ सय रुपैयाँ पर्छ । यसअघि दुनैबाट ल्याउँदा प्रतिलिटर ६ सय रुपैयाँसम्ममा किनबेच हुन्थ्यो । अहिले मुस्ताङबाट सडक जोडिएपछि पेट्रोललगायतको नेपाली सामानको मूल्य घटेको छ । अघिल्लो वर्षसम्म दुनैबाट किनमेल गर्ने उपल्लो डोल्पाली अहिले मुस्ताङ पुग्ने गर्दछन् ।

उपल्लो डोल्पाको धो तिन्जे पुग्न दुनैबाट तीन दिन पैदल हिँड्नुपर्ने र खच्चडमा सामान ओसारपसार गर्दा ढुवानी रकम महँगो पर्ने भएकाले अहिले मुस्ताङबाटै कारोबार हुने गरेको स्थानीय व्यापारीको भनाइ छ ।
चिनियाँ नाका खुलेको समयमा राजश्व संकलन गर्न अस्थायी भन्सार कार्यालय स्थापना गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया