रोल्पा – रोल्पाको लिबाङ्ग तैनाथ श्री बटुकदल गणले चैत्र १ गते शुक्रबार रोल्पाको उच्च पहाडी भाग अवस्थित सुनछहरी गाउँपालिका वडा नं. २ स्थित भित्री गाम र वडा नं.३ को मौलावनमा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरु उलन टोपी, शैक्षिक सामग्री र खेलकुदका सामाग्री बितरण गरेको छ । बटुक दल गण रोल्पाका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माको नेतृत्वमा खट्टिएको टोलीले २ वटा बिधालयका करिब १८७ जना विधार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

मौलावनमा रहेको श्री चौवारी कुईपाधारा आधारभूत बिद्यालयका ९५ जना र भित्री गामको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका ९२ जना गरी १८७ जना बिद्यार्थीहरुलाई सहयोग सामाग्री प्रदान गरिएको हो । बटुक दल गणले आयोजना गरेको सो वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि विद्यालयका शिक्षक, शिक्षिका लगायत अभिभावकहरुको उपस्थितिमा विद्यालयका बिद्यार्थीहरुलाई उलन टोपी, शैक्षिक सामग्री र खेलकुदका सामान बितरण गरिएको गणपति विश्वकर्माले बताएका छन् ।
बटुक दल गणले यस अघि सुनछहरी गाउँपालिका कै वडा नं.३ को बाहिरीगाममा स्वास्थ्य शिबिर संचालन गरेको थियो जसबाट २४५ जना स्थानियहरुले सेवा समेत लिएका थिए । यस्ता सामाजिक कार्यमा नेपाली सेना जस्तो गौरबमय संगठनले जनस्तरमा पुगेर सहयोग तथा सेवा गरेपछि स्थानियहरु निकै हर्षित बनेका छन् ।





