गएको शनिबार राति काठमाडौँ, ठमेलको एउटा कन्दरामा पोखराको ‘कन्दरा’ले आफ्नो ३२ औँ जन्मदिन मनायो। पोखराको ‘कन्दरा’ भन्नासाथ हरेकको कानमा ‘हिउँ त होइन फाप्रेको डङ्गुर’ सबैभन्दा पहिला बज्दो हो जस्तो मलाई लाग्छ। अनि मनकै आँखामा आउँदो हो एउटा हँसिलो अनुहार, भौतिक र अभौतिक दुवै मानेमा अग्लो एउटा व्यक्तित्व- विवेक श्रेष्ठ! खैर, विवेक श्रेष्ठ र कन्दराको कथाभन्दा पनि आज म आफ्नै कथा भन्न बसेकी हुँ, जसमा कन्दरासँगका नयाँपुराना अनुभूतिहरू भने अवश्य नै जोडिएर आउनेछन्।
कन्दराले आफ्नो स्थापनाको ३२ वर्ष पुग्दा काठमाडौँमा पहिलोपटक कन्सर्ट गर्यो। त्यसो त म पनि झण्डैझण्डै कन्दराजत्तिकै पुरानो हुने बाटोमै छु र यसरी काठमाडौँमा मात्रै होइन, जीवनमै कन्सर्टमा रम्नुको अनुभव मैले पहिलोपटक गएको शनिबार नै गरेँ। यसअघि लाइभ म्युजिक सुन्दै रमाएको अनुभवसम्म त थियो तर, कन्सर्टकै अनुभव काठमाडौँमा कन्दरासँगै पहिलोपटक गर्ने लेखान्त रहेछ कि!
पहिलो कन्सर्ट अनुभव कस्तो रह्यो? त्यता जानुपहिला पोखरा र काठमाडौँबीचको एउटा संयोगलाई पनि सम्झिहालूँ। काठमाडौँमा व्याप्त उपलब्धतालाई छेउ लगाउँदै लाइभ म्युजिकको पहिलो अनुभव गर्न म पोखरा नै पुगेकी थिएँ। फर्माइस गरी गरीकन विपुल क्षेत्रीका गीतहरू पोखरामा लाइभ सुनेको अनुभव अझै ताजा छ। यो संयोगको निचोड यसरी निकाल्न मन भयो- पहिलोपटक लाइभ म्युजिक सुन्न काठमाडौँ छोडेर पोखरा पुगेकी मलाई पहिलोपटक कन्सर्टको अनुभव दिलाउन ‘कन्दरा’ पोखरादेखि काठमाडौँ आइपुग्यो! आफ्नो कथामा आफै मुख्य पात्र भइने है?
अर्को कुरा पनि सुटुक्क भनूँ? कन्सर्टको मात्र नभएर कुनै क्लब छिरेको पहिलो अनुभव पनि यही नै रह्यो मेरो। तर, पहिलोपटक छिरेको क्लब नै ‘एल.ओ.डी’ भनेर मख्ख हुन भने पाइयो। यसअघि न कहिल्यै क्लब, न कन्सर्टको अनुभव। आशंका यस्तो पनि थियो, त्यो भिड र ध्वनिले मलाई तान्नुको सट्टा धकेल्ने त होइन? नभन्दै, छिर्दाछिर्दै तितरबितर भएर एक्लै परेँ। टाउकाहरू देखिन्छन् तर, कुनै पनि टाउकोले चिनेको अनुहार बोकेकै छैन। अब धकेलिने भइनँ त?
त्यसो त अँध्यारो पनि छैन। मेरो कोठाभित्र बल्ने भन्दा कयौँ गुणा ज्यादा बत्तीहरू रङरङका उज्यालो फ्याँकिरहेकै छन्। तर, पनि त्यस उज्यालोमा अनगिन्ती अनुहारबीच परिचित अनुहार पहिल्याउन लगभग असम्भव भइदिन्छ। अब दोस्रो उपाय उही फोन त हो नि! तर, स्टेजमा देवेन्द्र बब्लुले कन्दरालाई ‘ह्याप्पी बर्थडे’ विस गर्दै रहेछन्। त्यस कन्सर्ट हलको कुनै पनि कुना कन्दरामा लुकेर बोले पनि फोनको पल्लो छेउबाट आएको आवाज फोनसम्म त आइपुग्छ, महसुस हुन्छ। तर, कानसम्म आइपुग्दैन। बुझिँदैन। परेन त फसाद? कसो कसो भएर हो एउटा शब्दचाहिँ बुझिन्छ- भर्याङ! भर्याङ त दुईतर्फ छन्। दायाँ उक्लूँ कि बायाँ? जे परोस् पहिले बायाँ उक्लिएर हेर्छु।



